Wednesday, February 16, 2011

गोरखामा नेपालकै सबैभन्दा ठूलो गुफा भेटियो

गोरखा,

नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ ।

स्वाँरा गाविस-८ मा रहेको सो गुफा स्वाँरा, सौरपानी, आरुआवाङ र आरुचनौटे गाविस हुँदै आरुघाटसम्म रहेको र योभन्दा लामो गुफा नेपालमा अर्को नरहेको स्वाँरा एकता क्लबका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताउनुभयो ।

ट्रेकिङ व्यवसायी, पत्रकार, स्थानीय राजनीतिक दल, सभासद्, पर्यटन व्यवसायीसहितको टोली यही फागुन १५ देखि सातदिने अभियानमा गोरखाबाट निस्केको थियो ।

नेपालको सबैभन्दा ठूलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठूलो रहेको स्थानीय धामी बरामले बताउनुभयो ।

यसैबीच सो टोलीलाई स्थानीय गाउँलेले स्वागत गरेका छन् । स्ाौरपानीका पर्यटन व्यवसायीले राखेको एक कार्यक्रममा सभासद् अमर तमुले आर्थिक रुपान्तरणका पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको बताउनुभयो ।

जिल्ला सदरमुकाम गोरखाबाट ११ कोस उत्तरमा रहेको सो गुफा नेपालको लामो भएको थप जानकारी टोलीमा सहभागी अर्का सदस्य एवम् धार्चे मनास्लु पर्यटन समितिका अध्यक्ष साने गुरुङले गराउनुभयो ।

पदयात्राको उक्त टोली उत्तरी गोरखाका विभिन्न क्षेत्रको भ्रमण, अवलोकन र मूल्याङ्कन गरी फागुन २२ गते गोरखा र्फकने र पत्रकार सम्मेलन गरेर यात्राबार जानकारी दिने कार्यक्रम रहेको समितिका सचिव रिजन घलेले बताउनुभयो ।

Wednesday, January 26, 2011

गोरखा जिल्ला




गोरखा नेपालको गण्डकी अञ्लमा अवस्थित एक जिल्ला हो । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ ।

विषयसूची
१ धार्मिक
२ ऐतिहासिक
३ भौगोलिक अबस्था

धार्मिक
यस बाहेक यहाँ शक्तिकी स्वरुप श्री भवानी कालिका र शिव स्वरुप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रुपमा यस ठाउँको महत्वपुर्ण स्थान छ ।

ऐतिहासिक
यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारैं भक्तजनहरु दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन वलि पुजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरुको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाईन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अंकीत थियो । यसबाट थाहा हुन्छ कि उहाँहरु हाम्रो आरध्यदेव हुनुहुन्छ ।

भौगोलिक अबस्था
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरु, हिमालदेखी कलकल गर्दै बग्ने नदिनालाहरु, सम्ममैदान र फाँटहरु, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाट थुप्रै पर्य़टकहरु यहाँ आउने गर्छन् ।

अञ्चल:गण्डकी अञ्चल
सदरमुकाम: गोरखा
क्षेत्रफल: ३,६१० वर्ग कि.मि.
जनसंख्या: ३,२१,८४६
गाविस संख्या: ६६
नगरपालिका(हरू): गोरखा नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ३
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
सबैभन्दा अग्लो उचाई: ८,१५६ मिटर
सबैभन्दा होंचो उचाई: ४८८ मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, मगर, गुरूङ,यस जिल्लामा बिशेष गरी मगर र थारु जती को बसोबस रहेको पाईन्छ मगरहरु जिल्लाको उतरी भेगमा बसोबस गर्छन् भने थारुहरु दखिन भेग मा बसोबस रहेको पाईन्छ
प्रमुख भाषाहरू: नेपाली, मगर, गुरूङ भाषा
मानव विकास सुचाङ्क स्थिति: ४० (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०६४